

१४ घन्टामा पनि पार भएन देशकै मुख्य राजमार्गको १४ किलोमिटर

दाउन्ने – देशकै प्रमुख राजमार्ग पूर्वपश्चिम राजमार्गको १४ किलोमिटर सडक पार गर्न तपाईंलाई १४ घन्टाभन्दा बढी समय लाग्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, बाध्यता पूर्वी नवलपुर र पश्चिम नवलपरासीको सीमा क्षेत्र पर्ने दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न त्यो भन्दा पनि बढी समय लागेको छ ।
उक्त सडक खण्ड निर्माणको काम भइरहेका बेला पछिल्ला दिनहरुमा यात्रुहरुले चरम सास्ती खप्नुपरेको छ । ‘हिजो साँझ दुम्किबासबाट उकालो लागेको गाडी अहिलेसम्म जम्मा ७ किलोमिटर अगाडि बढेको छ’, लुम्बिनीमा आयोजना हुन लागेको एक कार्यक्रमका लागि रामेछापबाट जाँदै गरेका एक यात्रुले बताए । उनले उक्त सडक खण्डमा सडकको अवस्थाले भन्दा पनि व्यवस्थापनको कमजोरीले यात्रुहरुले दुःख पाएको जनाए । उनले ट्राफिक प्रहरी, स्थानीय प्रशासन र निर्माण कम्पनीहरुको सहकार्यमा यात्रुहरुलाई सहजनता प्रदान गर्नुपर्ने जनाए ।
‘सडकको अवस्थाभन्दा पनि यहाँ समन्वयको अभावले जाम भएको छ, यदि ढुवानीका साधन र यात्रुबहाक सवारीहरुलाई छुट्याएर सञ्चालन गर्ने हो भने यति धेरै जाम ब्यहोर्नुपर्दैन,’ उनले थपे ।
लामो समयको जामका कारण यात्रुहरु भोकले पनि अत्तालिएका छन् भने जंगलका बीचमा भएका कारण खान पनि नपाएको यात्रुहरुले बताएका छन् ।
बिहीबार परेको वर्षाका कारण बाटो हिलाम्य भएको छ भने ढुवानीका ठूला सवारीसाधनहरु सडकमै बिग्रिएर अर्को समस्या देखा परेको छ । तर, व्यवस्थापन गर्ने निकायको चरम लापरबाहीका कारण यात्रुहरुले दुःख भोगिरहेका छन् ।
राजमार्ग जामका बारेमा सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिसँग प्रश्न गर्दा मुख्य राजमार्ग भएका कारण स्थानीय तहले केही निर्णय गर्न नसक्ने जनाए । ‘मुख्य राजमार्ग हो, यस खण्डमा हाम्रो कुनै पनि अधिकार रहँदैन’, उनले भने ।
यात्रुहरुले ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरीले भने बिहीबार पानी परेपछि अझै जाम बढेको जनाए । दिउँसोको समयमा सडक बन्द गर्दा साँझ केही हदसम्म जाम हुने भएता पनि पानीपरेपछि उक्त खण्डमा हिलो भएका कारण अझै जाम बढेको ड्युटीमा खटिएका एक प्रहरीले जनाए । उनले भने, ‘पानी नपर्दा धुलोले बाटै देखिँदैन, पानी परेपछि हिलोले हिँड्नै सकिँदैन ।’
लामोसमयदेखि पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा यात्रुहरुले सास्ती ब्यहोर्दै आए पनि सरकार एवं सम्बन्धित निकायले वैकल्पिक मार्गलाई व्यवस्थित नगर्नु जनताप्रति सरकारले उत्तरदायित्व वहन गर्न नसकेको पनि यात्रुहरुले आक्रोश छ । ‘म जान्ने भएदेखि दाउन्नेमा दुःख पाइन्छ भन्ने सुनेको, कलेज पढ्ने उमेर भइसक्यो, अझै उस्तै छ,’ काठमाडौंबाट भैरहवा हिँडेका एक यात्रुले आक्रोश पोखे । उनले सरकारले उक्त सडक खण्डमा सुरुङ नै गराएर भए पनि जनतालाई सुविधा दिनुपर्ने बताए । उनले भने, ‘कि सुरुङ बनाउनुपर्यो, नत्र भए वैकल्पिक सडकका रुपमा कतैबाट अर्को बाटो बनाउनुपर्यो, जहिले पनि बाटोकै कारण हामी जस्ता जनताले सास्ती पाउनु भएन ।’
सडक मर्मतका लागि यही चैत २७ गते ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ गतेसम्म राती ११ देखि ५ बजेसम्म बन्द गर्ने भनिए पनि सो भन्दाबाहेकको समयमा पनि यात्रुहरुले दुःख भोगिरहेका छन् ।

