

उर्जा सचिवलाई ‘कान्छाराम’को २४ घण्टे स्पष्टीकरण

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन् ।
‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?’ स्पष्टीकरणमा सोधिएको छ ।
‘तपाईँले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छ’, पत्रमा भनिएको छ ।
जलस्रोत तथा सिंचाइ विभाग जावलाखेलले यही चैत २५ गते सिंचाइ दिवस एवं ७२ औं वार्षिकउत्सव कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा सहभागी थिए ।
कार्यक्रम सञ्चालकले आसनग्रहणको क्रममा बोलाउँदा सचिव आचार्य मञ्चमा सहभागी नभई बाहिरिएका थिए ।

