वर्षाले राहत : काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्याे


काठमाडौं- केही सातादेखि लगातार प्रदूषणको मार खेप्दै आएको काठमाडौं उपत्यकाले अन्ततः राहत महसुस गरेको छ । विगत तीन सातायता उच्च रहँदै आएको वायु प्रदूषणमा बिहीबार उल्लेखनीय गिरावट आएको छ, जसको मुख्य कारण राजधानीसहित देशका विभिन्न भागमा परेको वर्षा हो ।

बिहीबार बिहान ११:३० बजेको मापनअनुसार उपत्यकाका धेरै स्थानमा वायु गुणस्तर सूचकांक (एक्यूआई) १४० भन्दा तल झरेको छ । बुधबारसम्म १५० देखि १८० सम्मको स्तरमा पुगेको एक्यूआई अहिले शंखपार्कमा १३६ र रत्नपार्कमा १२७ मा झरेको छ । ललितपुरको खुमलटार र भैँसेपाटी क्षेत्रको एक्यूआई क्रमशः ८५ र ९० मा मापन गरिएको छ भने भक्तपुरको सूचकांक पनि ९० मा सीमित छ ।

उपत्यकाबाहिरका क्षेत्रहरू पनि सफा हावाको अनुभूति गर्दैछन् । इलाम, भरतपुर, देउखुरी, र धनगढीजस्ता ठाउँहरूमा पनि एक्यूआई १०० भन्दा तल झरेको देखिएको छ, जुन सामान्य अवस्थाको सूचक हो ।

तर, देशको प्रमुख पर्यटकीय नगरी पोखरा भने अझै प्रदूषणबाट पूर्णरूपमा मुक्त हुन सकेको छैन । बिहीबार सो क्षेत्रको एक्यूआई १५६ मापन गरिएको छ, जुन सबैका लागि अस्वस्थकर मानिन्छ ।

विश्व स्वास्थ्य संगठन अनुसार एक्यूआई यदि १०१ देखि १५० को स्तरमा पुगेमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका लागि अस्वस्थकर मानिन्छ। १५१ माथि पुगेपछि त्यो सबैका लागि नै जोखिमपूर्ण बन्दै जान्छ ।

यसरी, हालसालैको वर्षाले राजधानी र देशका धेरै ठाउँको वायु स्वच्छ बनाउन सघाएको छ ।

प्रतिक्रिया