

अफगानिस्तानविरुद्ध नेपाल ८५ रनले विजयी

काठमाडौं- नेपालले अफगानस्तानलाई ८५ रनले पराजित गरेको छ । नेपाली यु-१९ क्रिकेट टोलीले अफगानिस्तान यु-१९ टोलीलाई डीएलएस(डर्कवर्थ लुइस स्ट्रेन)मा पराजित गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा २०.१ ओभरमा वर्षा सुरु भएपछि तीन दिवसीयअन्तर्गतको अन्तिम खेल नेपालको पक्षमा परेको हो । यसअघि २ खेल जित्दै अफगानिस्तानले सिरिज जितिसकेको छ । पहिलो खेलमा १३० रनले पराजित भएको नेपाल दोस्रो खेलमा १ रनले पराजित भएको थियो ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो । नेपालले दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनायो ।
अफगानिस्तानका लागि फैजल सैनजुदाले १६ रन बनाए। अर्का ब्याटर अजिजुल्लाह मिया खिल १५ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अपराजित पौडेलले २ विकेट लिए । दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले १-१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर साहिल पटेलले ४६ रनको पारी खेले । उनले ६२ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
अर्का ओपनर निरज कुमार यादवले ४२ रन बनाए। कप्तान नरेन भट्टले २२, दर्श सोनारले १० र रोशन विश्वकर्माले २८ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

