

२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ : दुर्गा प्रसाईं

काठमाडौं – सरकारले खोजी गरिरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारलाई खुला चुनौती दिएका छन् । राजावादी आन्दोलनलाई हिंसात्मक बनाउन नेतृत्व लिएको आरोपमा उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढिरहेको बेला प्रसाईंले २४ घन्टाभित्र आफू र पूर्वराजा ज्ञानेन्द्रलाई गिरफ्तार गर्न सरकारलाई चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले सरकारलाई राजावादी आन्दोलन दबाउन खोजेको आरोप लगाए। ‘सरकारले हिम्मत छ भने २४ घन्टाभित्र मलाई र राजालाई पक्राउ गरेर देखाओस्,’ उनले भने ।
सरकारले आन्दोलनलाई उग्र बनाउन प्रसाईंको भूमिका रहेको दाबी गर्दै उनको खोजी तीव्र बनाएको छ । यसैबीच, उनले आफू सुरक्षित रहेको जानकारी दिएका छन् ।
‘म भागेको छैन, भाग्दिनँ । प्रहरीले मलाई खोज्नुपर्दैन । मलाई षड्यन्त्रपूर्वक दबाउन खोजिएको छ । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश आएको भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । तर, म भाग्दिनँ, बरु तपाईंहरुकै अगाडि मर्छु,’ उनले भने ।
प्रसाईंले प्रहरीसँग क्षमायाचना गर्दै भने, ‘म आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हुँ । प्रहरीप्रति कुनै दुश्मनी छैन । पर्न गएको चोटका लागि क्षमा चाहन्छु ।’

