

पाथिभरा केबलकारको निर्माण अघि नबढाउन सर्वोच्चको आदेश

काठमाण्डौ- सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माणाधीन केबलकार यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले उक्त निर्माण कार्यलाई हाललाई अगाडि नबढाउन निर्देशन दिएको हो।
यामबहादुर लिम्बूले दायर गरेको रिटमा छलफलका लागि विपक्षीलाई उपस्थित गराउने आदेश समेत दिइएको छ । “निवेदकले अन्तरिम आदेशको माग गरेकाले प्रस्तुत निवेदनको गम्भीरता र प्रकृति हेर्दा, दुवै पक्षको सुनुवाइ आवश्यक देखिन्छ । त्यसैले हालसम्म भएका काम कारवाहीहरू यथास्थितिमा राखी अन्तरिम आदेशबारे छलफल गर्न २०८१ चैत २६ गते पेशी तोकिएको छ, जसको जानकारी विपक्षीहरूलाई समेत दिनु,” आदेशमा भनिएको छ ।
सर्वोच्चको आदेशसँगै व्यवसायी चन्द्र ढकालको कम्पनीद्वारा निर्माणाधीन विवादित केबलकार तत्कालका लागि रोकिएको छ । स्थानीयको अवरोधका बीच निर्माण भइरहेको यस केबलकारको विरोधमा पहिचानवादी समूहहरूले न्यायिक निकायमा उजुरी दिएका थिए ।

