प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रंगशाला जाँदै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फुटबल खेल हेर्न दशरथ रंगशाला जाने भएका छन्। कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जान लागेका हुन्।

प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु साँझ ५ बजे खेल हेर्न दशरथ रंगशाला जाँदैछन्। ‘सोमबार ५ बजे प्रधानमन्त्री ओली दशरथ रगंशालामा नेपाल र बंगलादेशको फुटबल हेर्न जानुहुनेछ,’ एमालेका एक नेताले भने।

सोमबारको फाइनलमा बंगलादेश र नेपाल प्रतिस्पर्धा गर्दैछ। फाइनल बेलुकी साढे ५ बजेदेखि सुरु हुनेछ।

नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् । नेपालले बंगलादेशविरुद्ध २२ वर्षअघि फाइनल खेल्दा प्रशिक्षक बालगोपाल महर्जन टिमका मिडफिल्डर थिए ।

नेपालले उपाधिविहीन यात्रालाई २३ वर्षमा टुंग्याउँदै २०१६ मा ढाकामा बंगबन्धु गोल्डकप जित्दाका प्रशिक्षक पनि हुन् महर्जन । उनले नेपाली टिमलाई साफ यू–१९ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (यू–२३) को उपाधि पनि जिताएका थिए।

दशरथ रंगशालामै भएको सन् १९९९ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) को त्यो फाइनलमा घरेलु टिमलाई १–० ले निराश पार्दै बंगलादेशले स्वर्ण पदक लगेको थियो ।

पहिलो साफ गेम्स (१९८४) को फाइनल भेटमा भने नेपालले बंगलादेशलाई ४–२ ले पन्छाउँदै स्वर्ण चुमेको थियो ।

यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।

प्रतिक्रिया