बझाङमा एसईई परीक्षा दिएर घर फर्किएकी किशोरी मृत फेला


बझाङ- बझाङमा एसईई परीक्षा दिएर घर फर्केकी एक किशोरी आफ्नै कोठामा मृत फेला परेकी छिन् । केदारस्यूँ गाउँपालिका-१ रायलकी १७ वर्षीया आकांक्षा मल्ल मंगलबार बेलुका झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

मल्ल साहित्यकार एवं शिक्षक पूर्ण मल्लकी छोरी हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी युवराज भण्डारीका अनुसार उनले मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा दिएर घर फर्केपछि कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट भेटिएको भए पनि मृत्युको स्पष्ट कारण उल्लेख छैन । त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा परीक्षा बिग्रिएको तनावका कारण यस्तो घटना हुनसक्ने आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मल्ल केदारस्यूँ गाउँपालिका-१ स्थित गर्जेपानी मावि, रायलकी विद्यार्थी थिइन् । उनका बुवा सोही विद्यालयका शिक्षक तथा बझाङी भाषा र गजल लेखनमा परिचित साहित्यकार हुन् ।

प्रतिक्रिया