कैलालीबाट खैरो हेरोइनसहित पाँचजना पक्राउ


कैलाली – कैलालीमा ४ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित पाँचजना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको संयोजनमा इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलाली जिल्लाका विभिन्न स्थानबाट लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली प्रहरीका अनुसार गोदावरी नगरपालिका-०८, स्याउले स्कुलटोल बस्ने २५ वर्षीय सुनिल बमको घरमा खानतलासी गर्दा निजको सुत्ने कोठाको सिरानी भित्र लुकाइ राखेको अवस्थामा २ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हेरोइन) फेला परेको छ ।

त्यसैगरी, सोही स्थानमा बसोबास गर्ने २१ वर्षीय प्रकाश भुललाई खानतलासी गर्दा निजको साथबाट २०० मिलिग्राम लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै टीकापुर नगरपालिका-०९ खक्रौला स्थित चेकपोस्टमा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से. ६ प ६५९१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा लागु औषध बरामद गरेको थियो ।

स्कुटर चालक टीकापुर नगरपालिका-०७ नारायणपुर बस्ने २४ वर्षीय अरूण श्रीवास्तव र पछाडि सवार २२ वर्षीय संजय बिष्टको शरीर तथा स्कुटर खानतलासी गर्दा श्रीवास्तवले लगाएको हेल्मेट भित्र लुकाइ राखेको १ ग्राम ७९० मिलिग्राम लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-०१ बसन्त टोल निवासी २६ वर्षीय बिरेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५० मिलिग्राम खैरो हेरोइन फेला परेको छ ।

उनीहरूलाई सबैलाई हिरासतमा राखी आवश्यक कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिक्रिया