

शेयर बजारमा पहिरो, ५६ अंकले घट्यो नेप्से

काठमाडाैं- कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै होटल, बीमा, माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नारायणी विकास बैंक समूहको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ । नेप्से उच्च अङ्कले घटेको दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंकको डिबेन्चर २०८६ भने साढे ४ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।

