सरकारलाई मेयर बालेनको ‘ओपन च्यालेन्ज’ – गलत भए मलाई जेल हालियोस्


काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारमाथि कडा आरोप लगाउँदै भ्रष्टाचारविरुद्ध आफ्नो अडान दोहोर्‍याएका छन् । उनले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै जोगाइरहेको दाबी गर्दै, यदि आफ्ना भनाइहरू गलत साबित भए, आफूलाई जेल हाल्न चुनौती दिएका छन् ।

मेयर शाहले काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थित काठमाडौं टावर परियोजनासम्बन्धी विभिन्न आदेशहरू सार्वजनिक गर्दै सरकारको रवैयामाथि प्रश्न उठाएका छन् । उनले सरकारलाई सुशासनका भाषणहरू मात्र नगर्न आग्रह गर्दै लेखेका छन्, “यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा भाषणमा मात्रै सुन्नुपर्ने? यदि माथिको कुरा गलत भए, मलाई जेल हाल ।”

यसबाहेक, उनले काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको विषयमा पनि संघीय सरकारको उदासीनताप्रति रोष व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले चेतावनी दिँदै भने, “अबको एक हप्ताभित्र हाम्रो कर्मचारीहरूले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु। त्यसपछि हेरौँला, तिमीहरूको कुन शक्ति काम लाग्छ !”

मेयर बालेनको यी अभिव्यक्तिहरूले सरकारप्रति उनको निरन्तर असन्तोष झल्काउँछ । उनी भ्रष्टाचार र प्रशासनिक लापरबाहीविरुद्ध कडा रूपमा उभिन तयार रहेको सन्देश दिन चाहन्छन् । अब सरकारको प्रतिक्रिया के आउनेछ भन्ने चासो बढेको छ ।

प्रतिक्रिया