

बङ्गलादेशका पूर्वकप्तान तमीम हृदयघातका कारण अस्पताल भर्ना

ढाका- बङ्गलादेशका पूर्व एकदिवसीय क्रिकेट कप्तान तमिम इक्बाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।
ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमीमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका समय हृदयघात भएको हो ।
उनले खेलका लागि ‘टस’ पछि उनले छाती दुखेको गुनासो गरेको र मैदानमा प्रारम्भिक उपचारपछि उनलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो ।
“उनलाई हृदयाघात भएको हो । मलाई अहिलेसम्म जानकारी भए अनुसार उहाँको मुटुले राम्रोसँग काम गर्न थालिसकेको छ,” बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का मेडिकल अफिसर देबाशीष चौधरीले एएफपीसँग भने ।
टोलीका एक अधिकारी तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार तमिमको ढाकाको बाहिरी इलाकामा रहेको सावरको एक अस्पतालमा उपचार भइरहेको छ र बङ्गलादेशी जनतालाई उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न आग्रह गरिएको छ।
बिसिबीले तमीमअचानक बिरामी भएपछि आफ्नो निर्धारित बोर्ड बैठक स्थगित गरेको थियो र बोर्डका धेरै सदस्यहरू उनलाई भेट्न अस्पताल गएका थिए।
तमीमले सन् २००७ देखि २०२३ को बीचमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै ३९१ म्याच खेलेका थिए ।
उनले १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् र तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक प्रहार गर्ने एक मात्र बङ्गलादेशी ब्याट्सम्यान हुन् ।

