होलीमा युवाहरुबीच झडप हुँदा दुईको मृत्यु, दर्जनौं बढी बेपत्ता भएको आशंका


बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा होली खेल्ने क्रममा युवाहरुको समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । गुल्मी, बागलुङ र प्युठानको सिमानामा पर्ने बल्देधुरी बजारमा होली मनाउन गएका युवाहरुबीच विवाद हुँदा झडप भएको हो ।

झडपमा परि मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका बागलुङका प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको हवारीले बताए । आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जनाको उपस्थिति रहेको थियो ।

झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा अझै बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।

घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको भीमगिठेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया