युट्युब हेरेर युवकले आफैं आफ्नो पेटको अपरेशन गरेपछि…


काठमाडाैं- भारतकाे मथुरामा एक अनौठो घटना भएको छ ।  जसले चिकित्सकहरूलाई पनि अचम्मित बनाएको छ । पेट दुखाइबाट पीडित एक युवकले युट्युबको सहायता लिएर आफ्नै अपरेशन गरे । उनले सर्जरी गरेर ११ टाँका लगाए र त्यसपछि अस्पताल पुगे ।

वृन्दावनको सुनरख गाउँका ३२ वर्षीय राजा बाबू ठाकुरले लामो समयदेखि पेट दुखाइबाट ग्रसित थिए । उनले धेरैपटक चिकित्सकहरूसँग उपचार गराए पनि कुनै सुधार देखिएन । १८ वर्षअघि उनले अपेंडिक्सको अपरेशन गराएका थिए, त्यसयता पेट दुख्ने समस्या बारम्बार भइरहेको थियो ।

लगातार दुखाइ सहन नसकेपछि उनले आफैं अपरेशन गर्ने निर्णय गरे ।  उनले पहिले आफूलाई सुन्न पार्न इंजेक्सन लगाए र त्यसपछि सर्जिकल ब्लेडको सहायताले पेट चिरे । सुरुमा उनलाई पीडा महसुस भएन, तर केही समयपछि औषधिको असर सकिएपछि उनी असह्य पीडाले चिच्याउन थाले ।

परिवारका सदस्यहरूले उनको चिच्याहट सुनेर तुरुन्त अस्पताल लगे । चिकित्सकहरूले उनलाई गम्भीर अवस्थामा भर्ना गरे र उपचार सुरु गरेका छन् । चिकित्सकहरूका अनुसार उचित ज्ञानबिना यस्तो कदम चाल्नु ज्यानमारा हुन सक्छ ।

हाल राजा बाबूको अवस्था स्थिर रहेको छ।

प्रतिक्रिया