

चीनमा पहिलो पटक मानिसमा सुँगुरको मिर्गाैला प्रत्यारोपण

काठमाडाैं- अमेरिकापछि चीनमा पनि पहिलो पटक मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । शान्सी प्रान्तस्थित सिजिङ अस्पतालमा ६९ वर्षीया महिलामा अणुवांशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
मार्च ६ मा गरिएको यो प्रत्यारोपणपछि मिर्गौलाले तुरुन्तै पिसाब उत्पादन गर्न थालेको थियो । तेस्रो दिनदेखि मिर्गौलाले सामान्य रूपमा काम गरिरहेको र छैटौँ दिनमा २४ घण्टामा ५,४६८ मिलिलिटर पिसाब उत्पादन गरेको चिकित्सकहरूले बताएका छन् ।
सिन्ह्वाका अनुसार, ती महिलाको मिर्गाैला आठ वर्षअघि फेल भएको थियो । उपयुक्त दाता नपाएर उनी नियमित डायलासिस गर्दै आएकी थिइन् । स्वास्थ्य जटिलता बढेपछि प्रत्यारोपण गरिएको हो ।
चिकित्सकहरूका अनुसार, यो उपलब्धिले मिर्गौला प्रत्यारोपणका लागि नयाँ आशा दिएको छ । चीनमा हाल १३ करोड मानिस मिर्गौला रोगबाट पीडित छन् ।
यसअघि, २०२३ मा अमेरिकामा पहिलो पटक सुँगुरको मिर्गाैला मानिसमा प्रत्यारोपण गरिएको थियो, तर बिरामी दुई महिनामै निधन भएका थिए । चीनको यो सफलता चिकित्सा क्षेत्रमा नयाँ कोसेढुंगा सावित भएको छ ।

