पूजाको १२८ रनसँगै कुवेतलाई २१४ रनको लक्ष्य


काठमाडौं –कप्तान पूजा महतोको शानदार शतकसँगै नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि पूजाले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा ६८ बलमा १७ चौकाको मद्दतले १२८ रन बनाएपछि नेपालले कुवेतलाई विशाल २१४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि उपकप्तान समेत रहेको सोनी पाख्रिनले ४३ रनको पारी खेलेकी थिइन् । उनले ३३ बलमा २ चाैकाको मद्दतले ४३ रन बनाएकी हुन् । यी दुईजनाले अविजित ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

 

प्रतिक्रिया