रवि सवार जहाज भैरहवाका लागि उड्यो
काठमाडौं – सहकारी ठगी प्रकरणमा बयान लिनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गर्न लागिएका रास्वपा सभापति रवि लामिछाने सवार जहाज पोखराबाट भैरहवाका लागि उडेको छ ।
पार्टी नेता दीपक बोहोराका अनुसार रवि सवार बुद्ध एयरको जहाज पोखराबाट उडिसकेको जनाएका छन् ।
बयानका लागि रुपन्देही जिल्ला अदालतमा पेश गर्न लागिएका रविलाई पोखरा प्रहरीले बिहान साढे ५ बजेदेखि नै पोखरा विमानस्थलमा राखिएको थियो । तर भैरहवा विमानस्थलको भिजिबिलिटी कम भएका कारण निर्धारित समयमा उडान हुन सकेको थिए ।
यससँगै काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज डाइभर्ट गरिएको जहाज पनि पोखराबाट भैरहवाका लागि उडेको छ ।
लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।