भैरहवा विमानस्थल खुल्यो, रवि ल्याउने जहाजको ‘बोर्डिङ पास’ सुरू !
बुटवल – सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएका रास्वपा सभापति रवि लामिछाने आउने भनिएको जहाजको पोखरामा बल्ल ‘बोर्डिङ’ सुरु भएको छ ।
बिहान साढे ५ बजे पोखरा विमानस्थल पुर्याइएका लामिछानेलाई लगिने भएको जहाज भैरहवा विमानस्थलको भिजिबिलिटी कम भएपछि अहिलेसम्म उड्न सकेको थिएन । तर, भर्खरैमात्र भैरहवा विमानस्थल खुलेसँगै पोखरा विमानस्थलमा बोर्डिङ सुरु गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पोखराबाट हवाईजहाजमार्फत् भैरहवा हुँदै रुपन्देही जिल्ला अदालतमा हाजिर गराउनका लागि ल्याइन लागिएको हो । त्यसका लागि प्रशासनले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरेको छ ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएको हो ।
यता लामिछानेलाई रुपन्देही ल्याइने भएसँगै पार्टीले रुपन्देही र भैरहवामा प्रदर्शनको तयारी गरेको छ । पार्टीले नेता तथा कार्यकर्तालाई बिहान १० बजे भैरहवामा निर्देशन दिएको छ ।
रविलाई रुपन्देही ल्याइने भएपछि सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।
सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो ।
यसअघि सोही प्रकरणमा गोर्खा मिडियाका अर्का सञ्चालक छविलाल जोशीलाई पनि कास्की प्रहरीले रुपन्देही जिल्ला अदालतमा बयानका लागि ल्याएको थियो ।