सहकारी ठगी प्रकरणः साढे ५ बजे एयरपोर्ट पुर्याइएका रवि अझै पोखरामै, रुपन्देहीमा सुरक्षा व्यवस्था कडा


काठमाडाैं — सहकारी ठगी प्रकरणमा बयानका लागि पोखराबाट रुपन्देही जिल्ला अदालत ल्याइन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सुरक्षार्थ रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पोखराबाट हवाईजहाजमार्फत् भैरहवा हुँदै रुपन्देही जिल्ला अदालतमा हाजिर गराउनका लागि ल्याइन लागिएको हो । त्यसका लागि प्रशासनले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरेको छ ।

लामिछानेलाई  बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएको हो । बिहान साढे ५ बजे पोखरा विमानस्थल पुरयाइएका रविलाई विमानस्थलमा मौसम नखुल्दा अझै पोखराबाट उडाउन सकिएको छैन ।

यता लामिछानेलाई रुपन्देही ल्याइने भएसँगै पार्टीले रुपन्देही र भैरहवामा प्रदर्शनको तयारी गरेको छ । पार्टीले नेता तथा कार्यकर्तालाई बिहान १० बजे भैरहवामा निर्देशन दिएको छ ।

रविलाई रुपन्देही ल्याइने भएपछि सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।

सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो ।

यसअघि सोही प्रकरणमा गोर्खा मिडियाका अर्का सञ्चालक छविलाल जोशीलाई पनि कास्की प्रहरीले रुपन्देही जिल्ला अदालतमा बयानका लागि ल्याएको थियो ।

 

प्रतिक्रिया