अमेरिकामा गैरकानुनी रुपमा बस्दै आएकालाई निकाल्नुबाहेक अर्को विकल्प छैनः ट्रम्प
काठमाडौं – अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएकाहरुलाई निकाल्ने बताएका छन् । शुरुवातदेखि नै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीविरुद्ध आक्रामक देखिएका ट्रम्पले उनीहरुलाई निकाल्नु बाहेक आफूसँग अन्य कुनै विकल्प नभएको बताएका हुन् ।
एनबीसी न्यूजसँगको अन्तर्वार्तामा भने, ‘यो प्राइस ट्यागको कुरा होइन । वास्तवमा हामीसँग कुनै विकल्प छैन । मानिसहको हत्या भएको छ । लागू औषध कारोबारीहरुले देशलाई बर्बाद गरेका छन् । अब उनीहरु आफ्नो देश फिर्ता हुनेछन् किनभने उनीहरु यहाँ बस्ने छैनन् ।’
ट्रम्पले गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएकाहरुलाई ‘मास डिपोर्टेसन’ गर्ने शुरुदेखि नै बताउँदै आएका हुन् ।अमेरिकामा लाखौं संख्यामा मानिस गैरकानुनी रुपमा बसिरहेका छन् । उनीहरुलाई तत्काल ट्रम्पले भने जस्तै निकाल्ने अवस्था नरहे पनि आउने दिनमा यो कार्यान्वयन गरेर छाड्ने ट्रम्पको विश्वास छ ।
सन् २०१६ मा राष्ट्रपति हुँदा पनि ट्रम्प गैरकानुनी रुपमा बसिरहेकाहरु प्रति आक्रामक थिए । पहिलो कार्यकाल भन्दा शक्तिशाली भएर ह्वाइट हाउस फर्किरहेका ट्रम्पसँग सिनेटमा बहुमत छ । यस्तै, तल्लो सदनमा समेत रिपब्लिकन पार्टीले बहुमत ल्याए ट्रम्पले कानुन नै बनाएर आफ्ना योजना पूरा गर्न सक्ने छन् ।