

जसपाका अध्यक्ष ठाकुरसँग प्रचण्डको गुनासो- हाम्रो पीडा उस्तै छ

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई एक हप्ताभित्र नयाँ सरकार बन्ने भएकाले मिलेर जान आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् ।
बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले पछिल्लो राजनितिक घटना क्रमलाई समावेश गर्दै अध्यक्ष महन्थ ठाकुरुँग कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् ।
मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र हाम्रो सरकार बन्छ महन्थजी । तपाई हामी भएर (सम्बोधन) गरौं न, किन ओली कहाँ धाउनुहुन्छ ?’
मधेसका मुद्दा सम्बोधन गर्न आफूले दुई पटक संशोधन प्रस्ताव लैजाँदा पास हुन नदिने केपी ओली नै भएको उनले बताए । दाहालले अध्यक्ष ठाकुरलाई बालुवाटारमा ओलीसँग भेट्न जानु भन्दा सरकारको नेतृत्व लिएर समाधन गर्न आग्रह गरे ।
‘विगतमा आज कहाँ भन्दा बालुवाटार, ओली कहाँ, भोलि कहाँ भन्दा ओलीसँग गरेकै हो,’ दाहालले भने, ‘अहिले त्यही भएर मसँग नागरिक समाज रिसाउनु भएको छ। तपाईहरु पनि यही नर्गनुस् फेरि मजस्तै हुनु होला। ‘
ओली प्रवृत्तिमाथि प्रधानमन्त्री र पार्टी एकता लगेर बुझाएकोमा आफूले गल्ती गरेको उल्लेख गर्दै उनले ओली प्रवृत्तिविरुद्ध आफूले विद्रोह पनि गरेको उल्लेख गरे।
प्रचण्डले संवादका क्रममा माओवादी केन्द्र र जसपाको पीडा उस्तै रहेकाले मिल्न आग्रहसमेत गरेका थिए । तर,अध्यक्ष ठाकुरले प्रचण्डलाई दुवै जनाको पीडा एउटै भएको भए तापनि प्रचण्ड माथिल्लो पदमा रहेको जवाफ फर्काएका थिए । प्रचण्डलाई उनको जवाफ थियो तपाईं पीडित भएर पनि माथिल्लो पदमा, कुर्सीमा हुनुहुन्छ ।
उनले सत्तामा ओली रहेकाले आफ्ना माग ओलीसमक्ष राखेको पनि स्पष्ट पारेका छन् ।

