खराब मौसमका कारण हवाई उडान प्रभावित


काठमाडौं- प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । उनका अनुसार मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ तर सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।

काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुन सकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया