अमेरिकासँग फेरि हार्यो नेपाल


काठमाडौं -आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपाल पराजित भएको छ। आज विहान अमेरिकाका डलासको ग्रान्ड प्रिएरीमा सकिएको खेलमा नेपाललाई घरेलु टोलीले ३७ रनले पराजित गरेको हो।

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेटको क्षतिमा पूरा २८१ रनमा बनाउँदै नेपाललाई २८२ रनको लक्ष्य दिएको थियो।

सो लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनमात्र बनाएपछि जारी लिगमा नेपाल अमेरिकासँग दोस्रो पटक पराजित भएको हो ।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। १० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपाल ४० औँ ओभरको तेस्रो बलमा गुलसन झा आउट भएपछि क्रिजमा आएका थिए। सो समयमा नेपालको स्कोर १६२ रन थियो।

उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर आठौँ विकेटका लागि ७३ रनको साझेदारी गरे। ४७ औँ ओभरमा भान साचलविकको बलमा आउट हुनुअघि उनले २७ बलमा ४६ रन जोडेका थिए। यसक्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए।

नेपालका अनिल शाहले ८० बलमा ५२ रनको योगदान गरे। ३८ बलमा ३१ रन जोडेको ऐरी अन्तिम विकेटको रूपमा नेत्रभालकरबाट आउट भए। सोमपाल भन्दा अघि धिमा गतिमा खेलिरहेका नेपालका कुशल मल्लले ५४ बलमा ३३ र कुशल भुर्तेलले ५१ बलमा २९ रन जोडे। आरिफ सेखले १३ बलमा २१ रन जोडेका थिए।

अमेरिकाका सौरभ नेत्रभालकरले ९।५ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए। नोत्सु केनित्जे र भान साचलविकले समान २ विकेट लिए। हरमित ८ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच बने।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रनको योगफल खडा गरेको थियो। अमेरिकाका लागि मोनान्क पटेलले ६७ तथा साइकेजा मतामेलाले ७५ रन जोडेका थिए। तर यी दुवै भन्दा हरमित सिंहले छिटो गतिमा रन बटुलेका थिए। उनले ४४ बलमा ५९ रन जोडे। उनको पारीमा ३ चौका र ३ छक्का समावेश थियो।

नेपालका गुलसन झाले ३ विकेट लिए। तर उनी महंगा सावित भए। १० ओभरमा ८७ रन खर्चिए। करण केसीले आफ्नो दोस्रो ओभर पुरा गर्न पनि नभ्याउँदै समस्या आएपछि उनले १० बल मात्र फ्याँके। उनले यस क्रममा २ रन मात्र खर्चेका थिए। सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए।

जितसहित अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ। १२ खेल खेलेका अमेरिका र क्यानडाको समान १६ अङ्क भए पनि अमेरिका रन रेटको आधारमा अघि छ। स्कटल्यान्ड १० खेलमा १३ अङ्क सहित तेस्रो, नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्क सहित चौथो र नामिबिया १२ खेलमा १० अङ्क सहित पाँचौँ स्थानमा छन्। ओमान ९ खेलमा ८ अङ्क सहित छैटौँ, नेपाल ११ खेलमा ५ अङ्कसहित सातौँ तथा संयुक्त अरब इमिरेट्स ८ खेलमा २ अङ्कसहित पुछारमा छन्।

प्रतिक्रिया