आफ्नै गोरूले हानेर कृष्णले गुमाए ज्यान, छिमेकी गम्भीर घाइते
काठमाडौं – झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ।
गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो। गोरुले हानी घाइते बनेका शर्माका ढाडका ७ वटा करङ भाँचिएका थिए।
उनलाई लाइफ लाइन अस्पताल दमकमा उपचार गराउँदा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको थियो। उपचारका क्रममा उनको नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
साथै सोही गोरुलाई समाउने क्रममा उनका छिमेकी रविन राजवंशी पनि घाइते भएका छन्। राजवंशीको टाउकोमा चोट लागेको छ।