माफी मागेपछि थाइ एयर एसियाको प्रतिबन्ध फुकुवा
काठमाडाैं- नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ ।
आइतबार अनुमतिबिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । उडान तालिका नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि प्राधिकरणले तत्कालका लागि उडानमा रोक लगाएको थियो।
तर, थाइ एयरले माफी मागेपछि आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने सर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
उनका अनुसार अब थाइ एयरले आइतबारदेखि दुवै विमानस्थलमा नियमित उडान गर्ने छ ।