संखुवासभामा अरुण तेस्रो परियोजनामा परिचालित टिपर दुर्घटना, चालकसहित २ जनाकाे मृत्यु


संखुवासभा – संखुवासभामा मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमाभल्भो टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत परियोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको छ।

मकालु –५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा परेर अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको डिएसपी बस्नेतले बताए।

अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो। दुर्घटनामा परेर २ जना घाइते भएका छन्। घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन्। घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

चिकित्सकले बिहीबार बिहानका राति करिब पौने ४ बजेतिर मृत घोषणा गरेका हुन्। मृतक दुवै जनाको शव जिल्ला खाँदबारी अस्पतालमै छ। दुर्घटनामा परेर टिपरमा सवार भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएको डिएसपी बस्नेतले बताए। उनीहरु पनि अरुण तेस्रोकै मजदुर हुन्। घाइतेमध्ये गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ। सामान्य अवस्थाका पालको खाँदबारी अस्पतालमै उपचार भइरहेको छ।

भिरालो ठाउँमा टिपर दुर्घटना भएका कारण उद्धारमा कठिनाइ भएको थियो। घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया