साफ महिला च्याम्पियनसिपः भुटानविरूद्ध ७-१ को जितसँगै बंगलादेश उपाधिनजिक


काठमाडौं – बंगलादेश लगातार दोस्रोपल्ट महिला साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७-१ गोल अन्तरको फराकिलो जित निकाल्दै बंगलादेश फाईनल पुगेको हो ।

बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । साविना खातुनले २ गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम १-१ गोल गरे । भुटानकी डेकी लाजोमले एक गोल फर्काइन् । बंगलादेशले सातौं मिनेटमै सुरुआती अग्रता लियो । त्यसको पाँच मिनेटपछि बंगलादेशले अग्रता दोब्बर बनायो ।

खेलको २४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन । लगत्तै सवीनाले नै बंगलादेशको अग्रतालाई ३-० मा पुर्‍याइन् । ३५औं मिनेट तोहुराले विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै अर्को गोल थपिन् । त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो ।

खेलको ४१औं मिनेटमा डेकी लाजोमले भुटानका लागि एक गोल फर्काइन् । ५८औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । ७३औं मिनेटमा सेउलीले बंगलादेशको अग्रता ७-१ मा पुर्‍याइन् । सन्जिदा अख्तरको कर्नरमा आएको बललाई उनले हेडरमार्फत गोल गरेकी हुन् ।

बंगलादेशले नेपाल र भारतबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

 

प्रतिक्रिया