काठमाडौं- उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको थाइ एयर एसियाको जहाजलाई अवतरण गर्न दिइएकाे छ । नेपालमा २ बजे अवतरण हुनुपर्ने विमान नेपाली आकाशमा झण्डै ४५ मिनेट होल्ड भएपछि अवतरणका लागि अनुमति पाएको हाे ।
उडान र अवतरणको अनुमति पाएको थाइ एयर एसिया अनुमति नलिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियाे । एयर एसियाको नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) भएकाे थियाे । यो वायुसेवाले हिजो २६ अक्टोबरसम्मको मात्रै उडान अनुमति लिएकाे थियाे ।
तर, होल्ड भएको विमानलाई अवतरण गराउने र आवश्यक कारबाही गर्ने गरि अनुमति दिइएको हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए ।
आइतबार विहान बैंककबाट स्थानीय समय अनुसार ११ बजेर ५० मिनेटमा उडेकाे साे जहाज यात्रु लिएर काठमाडाैं पुगेकाे थियाे ।