रवि लामिछानेका समर्थक अब प्रहरीमाथि जाइलाग्दै !


काठमाडाैं- कारागारमा रहेका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक प्रहरीको बदनाम गर्ने कार्यमा सक्रिय रहेको पाइएको छ । उनीहरूले  टिकटकसहितका सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिइरहेकाे प्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।

लामिछानेको पक्षमा पोष्ट गरिएका अभिव्यक्तिले प्रहरीलाई बदनाम गराउने भइरहेकाे  प्रहरीकाे भनाइ छ । कास्की प्रहरीले एक विज्ञप्ति जारी गर्दै भनेकाे छ,  ‘अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

प्रहरीले अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने  सूचनाको सम्प्रेषण र सन्देश प्रवाह नगर्न आग्रह गरेको छ । ‘फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ’ प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले भनेका छन् ।

प्रतिक्रिया