एमालेलाई मीनबहादुरले दिएको जग्गाविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा


काठमाडौं- व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको छ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।

यसअघि उक्त रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो। त्यसपछि प्रशासनको उक्त निर्णयविरुद्ध बस्नेतले निवेदन दिएका थिए। मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

प्रतिक्रिया