सहकारी ठगी प्रकरणः रवि र छविलाई आज अदालत पेश गरिँदै


पोखरा — सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई आज (बिहीबार) पुनः अदालत पेस गरिँदैछ ।

असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएका पूर्व डिआईजी जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो । त्यस्तै कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न लागिएको कास्की प्रहरीले जनाएको छ ।

सूर्य दर्शन सहकारीसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई मंगलबार सरकारी वकिलको कार्यालयले करिब तीन घण्टा बयान लिएको थियो भने बुधबार पनि बयान लिएको थियो । जोशीसँग यसअघि नै बयान लिइसकेको छ ।

जोशीलाई भने कास्कीमा लिइएको बयानपछि मंगलबार रुपन्देही जिल्ला अदालतमा बयान गराई बुधबार पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया