फराकिलो बन्दै लामिछानेमाथि अनुसन्धान, बयानका लागि विभिन्न जिल्ला पुर्‍याइँदै


काठमाडौं – पोखरामा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले पार्टी सभापति रवि लामिछाने बुधबार छुट्ने बताइरहेका बेला प्रहरीले भने उनीमाथिको अनुसन्धानलाई थप फराकिलो बनाउँदै लगेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई सोमबार नै रुपन्देही लगिसकिएको छ । असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका जोशीलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन रुपन्देही लगिएको हो । जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लगिने भएको छ ।

सूर्यदर्शनसहित विभिन्न पाँच सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको हुँदा सहकारी रहेका जिल्लाहरुमा छवि र रवि दुबैलाई लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । रुपेन्दीसँगै उनीहरुलाई वीरगञ्ज, चितवन, काठमाडौं समेत ल्याइने छ ।

वीरगञ्जको सानोपाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो । जोशी ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् । गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने फरार छन् । संसद्को सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो ।

 

प्रतिक्रिया