एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछः शहरी विकासमन्त्री सिंह


काठमाडौं-  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् ।

आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनका लागि समय लाग्ने बताएका हुन् ।

उनले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्यअनुसार धेरै कामहरू गरिसकेको छ । तर आउनासाथ जादुको छडी कसैसँग छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जेजे समस्याहरू छन् ती चाहिँ सम्बोधन गर्नका लागि समय लाग्ने गर्छ । तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरू हामीले गरिसकेका छौँ । तर कुनै उल्लेखनीय काम मैले जादु नै गरे भन्ने अवस्था चाहिँ छैन ।’

सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि पनि जनाए । उनले धरहरा परिसरमा वेसमेन्ट पार्किङ र बगैंचा निर्माण गरी संविधान दिवसका दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिए ।

प्राकृतिक विपत्तिमा परेका नागरिकहरुका लागि आश्रय स्थल उपलब्ध गराएको, विभिन्न जिल्लामा स्वास्थ्य भवन निर्माण गरेको, जाजरकोट र रुकुमपूर्वमा भुकम्पबाट क्षतिग्रस्त भवन तथा स्वस्थ्य भवनहरुको पुननिर्माण गरेको, भैंसेपाटीमा मन्त्री आवाज निर्माण सम्पन्न गरी बसोबास सुरु गरिएको, झापाको दमकमा दमक व्यापारिक कम्प्लेक्स र चितवनमा सौराह सभाहल निर्माण सम्पन्न गरेको जानकारी गराइयो ।

त्यस्तै थापाथलीस्थिति नेपाल राष्ट्र बैंकको बैंङ्गिक कार्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको साथै २५ वटा पालिकहरुको प्रशासकीय भवन निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया