

पूर्वसशस्त्र प्रहरीले जलाइदिए वन कार्यालयको मोटरसाइकल

डडेल्धुरा- पूर्व सशस्त्र प्रहरीले परशुराम नगरपालिकामा रहेको सब डिभिजन वन कार्यालय जोगबुढाको मोटरसाइकल जलाइदिएका छन् ।
हिजो (शुक्रबार) परशुराम नगरपालिका-५ परिगाउँमा पार्किङ गरेको अवस्थामा राखिएको मोटरसाइकल सोही ठाउँका पूर्व सशस्त्र प्रहरी धनबहादुर चन्दले जलाइदिएका हुन् ।
चन्दले रक्सी खाएर मोटरसाइकल जलाएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक सुरज रोकायाले जानकारी दिए। उनले भने, ´उनको परिवारबाट बुझ्दा रक्सी खाएर जलाएको खुलेको छ। बाइक ध्वस्त छ।`
सब डिभिजनमा कार्यरत कर्मचारी इश्वरी बोहरा र सुरेश खातीले उक्त सुपप्र ००४-००१ ब ००१९ नम्बरको मोटरसाइकल परिगाउँ लगेर गएकाे बुझिएको छ ।
रोकायाका अनुसार मोटरसाइकल परिगाउँमा रहेको चन्दको घरमा राखेर उनीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्ड भिजिट गएका थिए । सोही समयमा माेटरसाइकलमा आगजनी गरिएको हो ।
आगजनी गरेको आरोपमा प्रकाउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाउने तयारी भएको छ ।

