

दसैँको दिन १६ लाख गुमाएपछि कञ्चनपुरका योगेशले रोजेको बाटो

काठमाडौं- कञ्चनपुरको भिमदत्त नगरपालिका- ४ का २३ वर्षीय योगेश ठगुन्नाले ल्याब असिस्टेन्टको पढाइ सकेका थिए । पछिल्लो समय उनी महेन्द्रनगरको शर्मा प्याथोलोजीमा काम गर्दै आएका थिए । उनकाे मासिक तलब १३ हजार रुपैयाँ थियाे । उनकाे जीवन सामान्य नै चल्दै थियाे । तर, दसैँको दिन उनको ह्वाट्सएपमा एक अपरिचित नम्बरबाट फाेन आयो ।
फाेनबाट उनलाई अनलाइन कामको प्रलोभन देखाइएको थियो । सुरुमा कुनै रकम लगानी नगरी उनको वालेटमा रकम आयो । त्यसपछि उनलाई पाँच हजार रुपैयाँ जम्मा गर्न भनियो । पहिले रकम आएको देखेका योगेशले भनेकै जति रकम उनीहरूले पठाएको खातामा हालिदिए ।
त्यस लगत्तै ह्वाट्सएपमा भेटिएका व्यक्तिले ५० हजार रुपैयाँ जम्मा गरे ३ गुणा रकम आउँछ भन्ने प्रलोभन देखाए । त्यो पैसावापस आउँछ भनेर भन्यो, तर फेरि तीन गुणा पैसा आउँछ भनेर ५० हजार रुपैयाँ जम्मा गर्न लगाइयाे ।
उनले आफूसँग भएको उक्त रकम ती व्यक्तिले भनेको खातामा पठाइदिए । तर, त्यस लगत्तै ती व्यक्तिले थप ५० हजार रुपैयाँ थप्नुपर्ने बताए । योगेशले उक्त रकम व्यवस्थापन गरिदिन आफ्नी प्रेमिकालाई अनुरोध गरे । प्रेमिकाले सो रकम योगेशलाई पठाइदिइन् । योगेशले उक्त पैसा ह्वाट्सएपमा भेटिएका व्यक्तिले भनेको खातामा जम्मा गरिदिए ।
यतिबेलासम्म उनको एक लाख ५ हजार रुपैयाँ गइसकेको थियो । उनलाई त्यसभन्दा तीन गुणा बढी रकम पाउने आश्वासन दिइएको थियो । तर, उनलाई थप ९८ हजार रुपैयाँ जम्मा गर्न भनियो । योगेशले कतैबाट ९८ हजार रुपैयाँ पनि व्यवस्थापन गरेर पठाए ।
तर, उनलाई फेरि थप दुई लाख ५० हजार रुपैयाँ पठाउन लगाइयो । दुई लाख ५० हजार रुपैयाँ मागेपछि उनी डराएँ । त्यसपछि उनले यो कुरा मेरी प्रेमिका र दाइलाई बताए । योगेशले यसबारे दाइलाई बुझाउँदा उनका दाइले यसरी रकम पठाउँदा डुब्छ भन्दै रकम जम्मा नगर्न सुझाव दिए ।
तर, योगेशलाई गएको रकम फिर्ता आउँछ कि भन्ने आश थियो । त्यसैले उनले त्याे व्यक्तिले भनेजसरी थप रकम पठाउँदै गए । त्यसाे गर्दागर्दै उनले आफ्नो, साथी, उनकी आमा र फार्मेसीका सञ्चालकसँग मागेर कूल १६ लाख ३ हजार रुपैयाँ बुझाइसकेका थिए ।
तर, फेरि उनलाई थप ६ लाख रुपैयाँ तिर्न भनियो । अब भने योगेशले आफू ठगिएको थाहा पाए । आफूलाई पढाउँदा लागेका ऋण र अब लागेकाे ऋण सम्झेर उनले आत्महत्याकाे बाटाे राेज्ने निर्णय लिए । र, सुसाइड नोट लेखेर घरमै आत्महत्या गरे ।
आत्महत्या गर्ने दिन अस्ति बुधबार बिहान योगेश कोठाबाट बाहिर निस्किएका थिए । फ्रेस भएर योगा गरेर फेरि काेठामा गए । तर, उनी काेठाबाट कहिलै ननिस्कने गरी अस्ताए ।
अनलाइनबाट ठगिएपछि उनले आत्महत्याकाे बाटाे राजेकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ । उनको शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । योगेशको परिवारले खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरीले ठगुन्नाको साथबाट सुसाइड नोट फेला पारेको थियाे ।
त्यसमा उनले आफू अनलाइन ठगीको शिकार भएपछि आत्महत्याको बाटो रोजेको उल्लेख गरेका छन् । उक्त नोटका अनुसार अनलाइनबाट १६ लाखभन्दा बढी ठगिएपछि उनले आत्महत्या गरेका हुन् ।
अनलाइनमा पैसा दोब्बर आम्दानी हुने भन्दै उनलाई लगानी गर्न लगाइएको थियाे । त्यसैमा लगानी गर्दागर्दै १६ लाख भन्दा बढी डुबेर तनाव झेल्न नसकेर उनले आत्महत्या गरेको देखिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बताए ।
उनले सुसाइड नोटमा आफूजस्तालाई ठगी गर्नेलाई नछाड्न नेपाल सरकारलाई अनुरोध गरेका छन् । ‘यी लुटेराहरूलाई जसरी पनि पक्राउ गरिदिनु होला । जसरी यिनीहरूले मलाई फसाए त्यसरी कतिऔं मान्छेलाई फसाएका छन् । यिनीहरूको कारणले गर्दा म यो गर्न गइरहेको छु । मेरो मोबाइल फोनमा जति पैसा पठाएँ, जोलाई पठाएँ सबैको फोटो छ, हेर्नु होला । म मर्न गइरहेको छु । तर, नेपाल सरकार र यहाँको कानूनमा विश्वास छ यि लुटेराहरूलाई नछोड्नुहोला ’ उनले लेखेका छन् ।

