मितेरी पुलमा एसएसबीले चलायो गोली
पर्सा – वीरगञ्ज–रक्सौल नाकास्थित नेपालतर्फको भू–भागमा मंगलबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको छ । भारत तर्फबाट कवडी सामान लिएर आउँदै गरेका चार जना व्यक्तिलाई खेद्दै आएका एसएसबी जवानले नेपाली भूमिमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भूमिमै पसेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले जानकारी दिइन् । कवाडी संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमिमा पर्ने अहरिवा टोलाबाट खेद्दै आएका एसएसबीका एक जवानले गोली चलाएको ती महिलाले सुनाइन् । एसएसबीले गोली चलाएपछि उनीहरू नेपालतर्फ भागेको उनले जानकारी दिइन् । एसएसबीले गोली चलाउनुको कारण अहिलेसम्म खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले भने घटनास्थलमा एउटा गोलीको खोका भेटिएको जानकारी दिए । नेपाल–भारत सीमाको मितेरी पुलको छेउमा रहेको नेपाली भू–भागमा इन्सास राइफलमा लाग्ने एउटा गोलीको खोका भेटिएको उनले बताए ।
पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुङ्गेलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।