गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, के छ तयारी ?
रुपन्देही- मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । ।
निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् । सोहीअनुरूप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ ।
फ्लाई दुवईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।
महाप्रबन्धक तिवारीका अनुसार फलाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ । यसैबिच फलाइ दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरी सेवा सुविधाबारे जानकारी लिएकाले तयारीको कार्य अगाडि बढाउने महाप्रबन्धक तिवारीले बताए ।
यस्तै जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।
फलाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । तर विभिन्न समस्या देखाएर बिचमा रोकेको थियो । अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ ।
त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले केही दिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो । प्राविधिक टोलीलाई विमानस्थलको तर्फबाट विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरू जस्तै बजार विश्लेषण, अन्य अपरेसनसँग सम्बन्धित अन्य फाइदाहरूको विस्तृत जानकारी गराइएको महाप्रबन्धक तिवारीले जानकारी दिए । यद्यपि, यो एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुङ्गो लागेको छैन ।
यही असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो । एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्त्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ । नेपाल र थाइल्याण्डबिच पर्यटनलगायत विभिन्न हिसाबले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्याण्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् ।
थाई एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्याण्डबीच हवाई सम्पर्क सञ्जाल मात्रै नभएर दुई देशबिचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरूप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । “सरकारको कार्ययोजना अनुरूप आफू विमानस्थलको जिम्मेवारीमा आएपछि विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ”, उनले भने ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।
अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुङ्गानाले जजिरा एयरलाइन्स र फलाई दुबईले छिट्टै उडान गर्ने भएकाले सोही बमोजिम आवश्यक तयारी भइरहेको जानकारी दिए । उनले भने, “हामी तयारी अवस्थामा छौँ, प्राविधिक जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा ताकेता गरिएको छ । एयरलाइन्सको उडान सुरु भएपछि यात्रुलाई सहज ढङ्गले दिनुपर्ने हुन्छ, त्यसका लागि अध्यागमन कार्यालयले सबैखाले तयारी गरेको छ ।”