दुर्गा प्रसाईंका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु


झापा- बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु भएको छ।

गत असोज ७ गते बिहान बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्याएर पूर्वतर्फ आउँदै गरेको भारतीय ट्रकमा दुर्गा प्रसाईका समर्थकले आगजनी गरेका थिए। उनीहरु आगजनी गरी फरार भएका थिए।

आगलागीबाट ट्रकका चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भइरहेकोमा गए राति मृत्यु भएको हो ।

चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रसाईंले गठन गरेको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भीम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । भारतीय प्रहरीले नेपाल प्रहरीसंग सहजीकरण गरी मृतकको शव नेपाल ल्याइएको छ ।

प्रतिक्रिया