बाढीपहिरो गएको एक सातापछि निरीक्षणमा निस्किए गृहमन्त्री


काठमाडौं- गत असोज ११ र १२ गतेको बाढी पहिरोले बागमती प्रदेशका अधिकांश जिल्लामा  धनजनको क्षति भएकाे एक सातापछि  गृहमन्त्री रमेश लेखक निरीक्षणमा निस्किएका छन् । लेखक आइतबार गोदावरी नगरपालिकाको टिका भैरव लगायतका क्षेत्रमा अनुगमनका लागि पुगेका हुन् । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल धुलिखेल अस्पतालमा बाढी पहिरोबाट घाइते भएकाहरूको अवस्था अवलोकनका लागि पुगेका छन् ।

आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए ।

‘सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ’, गृहमन्त्री लेखकले भने, ‘क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ ।’

निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरु सहभागी थिए ।

 

प्रतिक्रिया