पहिरोमा पुरिएका ६ खेलाडीका परिवारलाई एनआरएनए मलेसियाले एक/एक लाख दिने


काठमाडाैं- गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएका ६ किशोर खेलाडीका परिवारलाई राहत दिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको पहलमा एनआरएनए मलेसियाले प्रत्येक खेलाडीका परिवारलाई एक/एक लाख गरी ६ लाख दिने भएको हो । एनआरएनए मलेसियाका पदाधिकारीले आगामी साता नेपाल आएर मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गर्ने बताइएको छ ।

गत शनिबार बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधका दुइटा ढोका खोलेर पानी बाहिर पठाएको थियो । बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासी बाढी आएको थियो । त्यही बेला वत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको थियो ।

घटनामा मकवानपुर हेटौंडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको मृत्यु भएको थियो ।

४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिनुका साथै स्थानीय वत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए । ३४ जना विद्यार्थीको भने उद्धार गरिएको थियो ।

 

प्रतिक्रिया