छोराछोरी विदेशमा भएका झन्डै २२ प्रतिशत ज्येष्ठ नागरिकमा एक्लोपना


काठमाडाैं- छोराछोरी विदेशमा भएका ज्येष्ठ नागरिकका बीचमा काठमाडाैं महानगरपालिकाले गरेको सर्वेक्षणमा २१ दशमलव ७ प्रतिशत व्यक्तिमा गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । यस्तै ६२ दशमलव ३ प्रतिशत व्यक्तिमा मध्यम खालको एक्लोपना र १५ प्रतिशत व्यक्तिमा कुनै पनि खालको भावनात्मक एक्लोपना नदेखिएको महानगरले जनाएको छ ।

उनीहरूले हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँचजस्ता पक्षमा हीनताबोध गरेका र यसै कारण एक्लोपना र निराशा देखिएको अध्ययनले देखाएको छ ।

छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यको स्तर थाहा पाउन र अवस्था सुधार गर्न महानगरपालिकालाई सुझाव दिन अध्ययन गरिएको थियो । सर्वेक्षणमा महानगरभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका सवै वडा समेटिने गरी पाँच सय नौ जनालाई सहभागी गराइएको थियो ।

अध्ययनले ज्येष्ठ नागरिकको पुनः परिभाषा गरेर पहिचान प्रदान गर्न महानगरलाई सुझाव दिएको छ । ज्येष्ठ नागरिकलाई अधिक प्राथमिकता दिएर, छुट र सुविधा प्रदान गरेर सम्मान प्रकट गर्न, यसका लागि कानूनमा प्रतिबद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न अध्ययनले सुझाएको छ ।

यस्तै मूर्त/अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरेर यस्ता ठाउँमा ज्येष्ठ नागरिकलाई घुम्ने, बस्ने वा सहभागी हुने व्यवस्था मिलाउन सिफारिश गरिएको छ । शहरको चौतर्फी विकास गर्न, युवालाई रोजगारी प्रदान गरेर स्वदेशमा रहने वातावरण सिर्जना गर्न पनि अध्ययनको सुझाव छ ।

प्रतिक्रिया