प्रस्तावित प्रधानन्यायाधीश राउतका उजुरीकर्तासँग छलफल आज, सुनुवाइ भोली


काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतविरूद्ध फैसलासँग सम्बिन्धत उजुरीमा आज उजुरीकर्तासँग छलफल हुने भएको छ । समितिले राउतका विषयमा प्राप्त उजुरी सदस्यलाई वितरण गर्दै भोलिका लागि सुनुवाइको मिति समेत तोकेको छ ।

मङ्गलबार समितिले उजुरीकर्तासँग छलफल गर्ने छ। उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइको निर्णय समितिले गरेको हो। राउतविरुद्ध फैसलासँग सम्बन्धितसहित छ वटा उजुरी परेका छन् ।

राउतविरुद्ध अधिकांश उजुरीकर्ताले नाम उल्लेख गरे पनि एउटा बेनामे छ । उजुरीमध्ये चार वटा मुद्दा फैसलासँग सम्बन्धित छन् । नेपाली सेनाको विवाद जोडिएका विषय, जग्गा विवादको मुद्दामा फैसला, चेतन ऐडी हत्या प्रकरणका अभियुक्तलाई तारेखमा रिहा गरेको विषय उजुरीमा समेटिएका छन् । सेनाको कोर्टमार्सलका घटनासँग सम्बन्धित आदेशका दुई उजुरी परेका छन् । बेनामे एक उजुरीमा भने राउतको नैतिक चरित्रमाथि प्रश्न उठाइएको छ । श्रीमतीको विवाद जोडेर नैतिकवान् नरहेकाले प्रधान न्यायाधीश नियुक्त गर्न नमिल्ने उल्लेख छ ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाउनुअघि नै राउतको सुनुवाइ सक्ने गरी समितिले कार्यतालिका अघि बढाएको हो । राउतको हकमा सुनुवाइलगत्तै निर्णयको तयारी छ । सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र निर्णय गरिसक्नुपर्ने व्यवस्थासमेत छ ।

 

प्रतिक्रिया