

स्थानीय स्तरमा खेलकुद पूर्वाधार निर्माण

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुमा कभर्डहल निर्माण सम्पन्न गरिएको छ । उक्त कभर्डहलको आज पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गरेका छन् ।
उक्त अवसरमा नेता भण्डारीले खेलकूद पूर्वाधार निर्माणका लागि स्थानीय तहले प्राथमिकता दिनुपर्नेमा जोड दिए । स्थानीय स्तरमा खेलकुद पूर्वाधार निर्माण भए मात्रै राष्ट्रले दक्ष खेलाडी प्राप्त गर्न सक्ने उनको भनाइ थियो ।
नेता भण्डारीले खेल क्षेत्रले विश्वमाझ नेपाललाई चिनाएको जनाउँदै सरकारले खेलकूद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए ।
नेता भण्डारीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य रहेको चर्चा गरे । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूद सँगसँगै सबै क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर लागिरहेको बताए ।
सोही अवसरमा थर्पु युवा क्लबले आयोजना गरेको व्याडमिन्टन कपको उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष कुशल थापाले रु २७ लाखको लागतमा कभर्डहल निर्माण गरिएको जानकारी दिए ।

