बाढी-पहिरोले उपत्यकामा ३४ सहित देशभर ५५ जनाको मृत्यु


काठमाडौं – दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा तीन जनाको उद्धार गरिएको छ ।

यसैगरी गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उपत्यकाका अधिकांश नदी किनारका वस्ती डुबानमा परेका छन् । थुप्रै क्षेत्र जलमग्न बनेका छन् । बाढीले उपत्यकाका सयौं घर डुब्दा स्थानीयको बिचल्ली भएको छ । मनोहरा, बागमती, विष्णुमतीलगायतका नदीमा आएको बाढी करिडोर पार गरेर बस्तीसम्मै पसेको छ ।

काठमाडौँका बागमती, विष्णुमती,मनोहरा नदीमा बाढी आउँदा आसपासका बस्ती डुबेका छन् । बाढीले च्यासल, टेकु, बल्खु, नख्खु,गोंगबु क्षेत्र डुबेका छन् ।

बागमती-मनोहरा दोभानमा बाढीले ग्यास ट्याङ्कर नै बगाएको थियो । बाढीले बगाइरहेका बेला ग्याँस लिग भएपछि सो क्षेत्रका स्थानीय त्रसित बनेका थिए । बाढीले ललितपुरको नख्खु -कुसुन्ती क्षेत्र प्रभावित बनेको छ भने भक्तपुरमा राधेराधे र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका छन् ।

प्रतिक्रिया