पाठशाला स्कुलले बनाएको पार्किङ वालमा महानगरले टाँस्यो सूचना


काठमाडौँ – थापागाउँमा पाठशाला स्कुलले कब्जा गरेको सार्वजनिक जग्गाले काठमाडौँ महानगरपालिकाले नयाँ सूचना टाँसेको छ ।

बारम्बार प्रयास गर्दा पनि सरोकारवालाले पत्र बुझ्न नमानेपछि पाठशालाले बनाएको पार्किङ वालमा सूचना टाँस गरिएको हो । किर्ते गरेर सार्वजनिक जग्गा आफ्नो नाममा बनाएका स्थानीय प्रेमरमण उप्रतीविरुद्ध काठमाडौं-१० बस्ने भानुप्रताप शाहसमेत ५ जनाले फिल्डबुक प्लट रजिस्टर तथा श्रेस्ता उपलब्ध गराइदिन भन्दै महानगरमा उजुरी गरेका थिए ।

उक्त उजुरीमा हाल कित्ता नम्बर १२७ को जग्गा सरकारी/सार्वजनिक भए/नभएको सम्वन्धमा एकिन गर्न २०२२ सालको नक्सा तथा साविक कित्ताको श्रेस्ता र फिल्डबुक तथा रजिस्टर उतार गरी पठाउन अनुरोध गर्दै महानगरको कानून तथा माअवअधिकार विभागमा सक्कल फाइल प्रेषित भएको थियो ।

प्रेमरमण उप्रेतीका नाममा जारी सूचनामा ७ दिनभित्र लिखित जवाफ सहित कार्यालयमा उपस्थित हुन भनिएको छ । अन्यथा कानून बमोजिम हुने जनाइएको छ । स्मरणीय छ कि सार्वजनिक जग्गालाई आफ्नो नाममा बनाउन सफल प्रेमरमण उप्रतीले सोही स्थानमा रहेको पाठशाला स्कुललाई जग्गा भाडामा दिएका छन् । सो स्कुलले यो जग्गामा घेराबेरा गररी आफ्नो बस पार्किङका लागि प्रयोग गरिरहेको छ ।

महानगरपालिकाले यसअघि नै पाठशालाले बनाएको संरचना भत्काउने तयारी गरेको थियो । तर, पाठशालाको दवावमा उप्रेतीले अदालत गएर निषेधाज्ञा ल्याउन सफल भए । उच्च अदालत पाटनले अन्तिम निर्णय नआउँदासम्म जग्गामा हस्तक्षेप नगर्न अन्तरिम आदेश दिएपछि महानगर रोकिएको थियो । यो मुद्दा अझै पनि किनारा लागेको छैन ।

प्रतिक्रिया