‘विदेश भाग्ने तयारीमा थिए पूर्व डिआईजी जोशी’, म्याद थपका लागि आज अदालत लगिँदै


काठमाडौं – सहकारी ठगीमा पक्राउ परेका छविलाल जोशी विदेश भाग्ने तयारीमा रहेको रहस्य खुलेको छ ।

सहकारी छानबिन संसदीय समितिले कारबाहीका लागि सिफारिस पछि आइतबार राजधानीबाट पक्राउ परेका गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) जोशी विदेश जान लागेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) बसन्तकुमार शर्माका अनुसार सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको अभियोग लागेका काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल घर भएका जोशी भागेर विदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रका कास्कीको अनुरोधमा अपराध अनुसन्धानले पक्राउ गरिएको हो ।

उनलाई जरुरी पक्राउ पूर्जी लिएर शंखमूलबाट पक्राउ गरिएको पनि डिएसपी शर्माले जनाए । साथै डिएसपी शर्माले अन्य व्यक्ति उपर हालसम्म अदालतबाट पक्राउ अनुमति नलिएको समेत जनाएका छन् ।

जोशीलाई आइतबार साँझ नै बुद्ध एयरको नियमित उडानबाट पोखरा लगिएको थियो । पोखरा लगेपछि गण्डकी मेडिकल कलेजमा स्वास्थ्य परिक्षण गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो ।

जोशीलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया