

हिजो कन्सर्टमा बबन्डर गर्ने व्यक्ति बझाङका खड्का, जो हुन् फरार अपराधी

काठमाडौं- संविधान दिवसको अवसरमा हिजाे(बिहीवार) दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थनमा नारा लगाउने व्यक्ति ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेकाे खुलेकाे छ ।
नाराबाजी गर्ने बझाङ मष्ट गाउँपालिकाका तिलक खड्कालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेकाे थियाे । उनले बालेन शाहको पक्षमा नारा लगाउँदै अरुलाई धकेलाधकेल गरेकाे र सहभागीलाई धम्क्याएकाे भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
तर, पक्राउ परेपछि उनी ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेकाे खुलेकाे परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनी एक वर्षअघि दरबारमार्गमै भएको एक घटनाको फरार अभियुक्त भएकाे अधिकारीले बताए । खड्का अपराधमा संलग्न रहेको दुई वटा मुद्दा रहेकाेमा एउटा मुद्दाका लागि आज अदालत पठाउने एसपी अधिकारीले जानकारी दिए ।

