दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं- संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
उनले भने, “कन्सर्टमा आउने हरेक व्यक्तिलाई सुरक्षा दिनेगरी कम्तीमा पनि पाँच हजार सुरक्षाकर्मी परिचालन गर्नका लागि व्यवस्थापन मिलाएका छौँ। कन्सर्ट स्थलको वातावरण बिगार्न खोजे कारबाही हुनेछ ।”
दरबारमार्गमा आज ४ बजेदेखि ‘नेसनल डे कन्सर्ट’ को आयोजना गरिएको छ । उक्त कन्सर्टको सुरक्षा कमान्ड जिल्ला प्रहरी काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले गर्ने तथा कन्सर्ट स्थलमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ ।
कन्सर्टमा गायक प्रमोद खरेल, सुगम पोखरेल, कुन्ति मोक्तान, स्वप्न सुमनलगायतका राष्ट्रिय कलाकारले प्रस्तुति दिनेछन्। त्यस्तै, दी एलिमेन्ट ब्याण्ड र कुटुम्बको पनि प्रस्तुति रहने बताइएको छ।