धरहरा चढ्न कसरी बुक गर्ने टिकट ?


काठमाडाैं- धरहरा ९ वर्षपछि सर्वसाधारणका लागि खुलेको छ । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै बिहीबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो ।

सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म धरहरा चढ्न कुनै शुल्क लाग्ने छैन ।

धरहरा अवलोकन गर्न अनलाइन टिकटका लागि dharhara.gov.np वेबसाइटबाट बुकिङ गर्न सकिनेछ । तर, वेबसाइट निर्माणको काम बाँकी रहेकाले आजका लागि धरहरा परिसरकै काउन्टरबाट टिकट उपलब्ध गराइने आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । भोलिदेखि भने अनलाइनबाटै टिकट बुक गर्न सकिने व्यवस्था हुनेछ ।

अधिकारीका अनुसार एक दिनमा ५०० जनाले धरहरा निःशुल्क अवलोकन गर्न पाउनेछन् भने वृद्ध, अशक्त, अपाङ्गता भएका थप १०० जनालाई पनि प्रवेशको सुविधा दिइनेछ । एक पटकमा ८ देखि १० जनासम्मले धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ भने माथिल्लो बार्दलीमा १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

 

प्रतिक्रिया