दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व उठ्यो : अर्थमन्त्री पौडेल


काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्ष दिनको भन्दा बढी राजश्व शेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन् ।

बुधवार नेप्से कार्यालयमा पुगेका अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिव पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन् ।

उनले चालू आर्थिक वर्ष ०८१-८२ मा शेयरबजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए । उनले ३ हजार ४० मा पुगेको नेप्से एकाएक २५ सयमा कसरी झर्‍यो भन्दै प्रश्न गरे । उनले आफूले सो कुराको सही जवाफ नपाएसम्म स्वयं र कर्मचारीहरूलाई सोधिरहने बताए ।

उनले नेपालको पूँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरू भित्र पनि, सम्बन्धित संस्थाहरूभित्र पनि र सार्वजनिक रूपमा पनि काफी छलफल, बहस हुने गरेको बताए । राजनीतिक रूपले अहिले पूँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरू चाल्न सरकार तयार रहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेण्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरूलाई निर्देशन दिए । उनले जनशक्ति व्यवस्थापनको योजना बनाउन, गुणस्तरीय सेवा प्रवाहमा जोड दिन पनि निर्देशन दिए ।

प्रतिक्रिया